हामी धुलो

सपनाको बिस्फोटपछी

टुक्राटुक्रा, कणकण भएर

यो धरातलमा लम्पसार परेदेखि

म धुलो भएको छु ।

बाँच्नुको अर्थ खोज्न,

लम्पसार पर्नुको तर्क खोज्न,

उठ्न प्रेरित गर्छ,

बेलगाम उडेको एक झोक्का हावा

र पुर्याउछ, फुङ्ग्लो लगाएका माझ ।

म सँगको प्रेमिल स्पर्सपछी

स्वाभाविक लाग्ने अस्वाभाविक प्रतिक्रिया देखिन्छ

मानौ

म नै तिनीहरुको प्रधान सत्रु हुँ ।

मानौ, मैले नै जीवनमा नैरास्यता जगाउने पर्चा बाँढेको छु ।

मानौ, मैले म बन्न ट्युसन पढाएको छु ।

भन ए अधुलोवादी मान्छेहरु

मेरो के दोष छ ?  

म अमूक बाढीमा घोलिएजस्तै

तिम्रा मायालाग्दा सपनाहरु खण्डहरमा लघारिएका छैनन् भने

म, म जस्तै टुटेर बिछोडिएको

मधुरो हावामा बहेजस्तै

तिमी अधुरा अभियान र आन्दोलनहरुमा हेलिएका छैनौ भने मात्र म दोषी हुँ ।

मैले हजारौ पदचापहरुको प्रताडनालाई स्वादिलो माने जस्तै

तिमी समयका उपहार रंगिन जलनहरुलाई स्वीकारेर बाँच्नु परेको छैन भने मात्र म दोषी हँु ।  

म केहि बाङ्गो भएर

भबिस्यको दृस्टीलाई खल्तीमा बोकी हिड्नेलाई सर्लक्क म सँगै मिलाएजस्तै

तिमीले तिम्रो भरोषामा बाच्नेलाई

सर्लक्कै म सँगै मिलाएका छैनौ भने मात्र म दोषी हुँ ।

नत्र

तिम्रो दैनिकी मेरो दैनिकी जस्तै छ ।

तिम्रो मन मेरो तन जस्तै छ  ।

तिम्रो जीवन मेरो प्रभाव जस्तै छ ।

किन अस्विकार गर्छौ ? मेरो आगमन 

धुलो बनेरै पनि उठ्ने चाह बोकेको तिम्रो मन

अनि

सिर्सिर समिरसँग सर्माउदै सुनगाभाभित्र लुट्पुटिदै हजार जुनी हराउने मेरो सपना एउटै होइन र ?

त्यसैले अब

आखाभरिका पर्दा हटाउ

मुख भरिको फुँङ्ग्लो

बरु लगाउ, आफ्नै अन्तरआत्मामा 

जहाँ पुस्तौ देखि टुक्रिएर धुलो बनेका आकांक्षाहरु

तिम्रो आत्मबिस्वासको मूल थुन्दै छन् ।

बर्षौअघि मरेको मन दुर्गन्धित भएर ग्रस्त बनाउदै छ तिमीलाई ।

अनि स्मृतिका कयौ मृत बिम्बहरू

आखाभरि विकिरण बनेर उदाइरहन्छन् ।

म तिमी हूँ, तिमी म हौ

अर्थात् हामी धुलो ।  



Leave a Comment: