मैले लेखेका कविता
अक्षरविहीन भएर
मेरो मनमस्तिष्कमा कुँदिएका छन्
म आम मान्छे
म नेताको श्रोता
स्वमनको वक्ता
मैले आश्वासनमा
कति कविता बुनेँ
केरमेट गर्दै निराशाको
अर्थ बुझ्न खोज्दै परिभाषाको
नेताले भने देश अशान्त छ
मैले शान्तिका लागि क्रान्तिको कविता बुनेँ
राज–नीति गर्ने राज–नेताको ओठबाट
राज गर्ने होइन, सेवा गर्ने कुरा सुनेँ
म मख्ख परेँ ओठे आश्वासनको भरमा
भरोसा गर्दै रचे निर्वाचनको कविता
स्वतन्त्र मतको कविता
स्वतन्त्रताका लागि
दिऔँ मत स्वतन्त्र कविता फुर्यो
म आम मान्छे
मेरो कविताका पात्रहरू प्रफुल्लित भए
तर तिनै पात्रहरू
प्रजाबाट लोक, लोकबाट गणमा परिवर्तित बनाइँदै गए
तर गणले पनि गणना गरेन
म स्वतन्त्र
म एक्लो कवि
जसले जता लगेपनि हुने
आफ्नो स्वार्थको लागि
कविताको शृङ्खला कथा बन्यो,
नाटक बन्न थाल्यो
म राह नभएको स्वतन्त्र आम मान्छे,
म फेरि विगतजस्तै गुमराहमा परेँ
आराम नभएको मान्छे
सदियौँदेखि गुमराहमा परेको कवि
म आम नेपाली
मेरा कविता सदियौँदेखि मनभित्रै दफन भएका छन्
मेरो ताल नमिलेको कविता
मेरो अनपढ कविता
कहिलेदेखि कहिलेसम्म
कुन राजमा राज भए
मेरो कविता विराजमान हुन सकेन राहमा
मलाई सधैँ नयाँ भन्दै देखाइयो राह
म गुमराहमा परेको कवि
मेरो आकाशको धरातलमा
बस्न खोजेको कविता
धराको आकाशमा
उड्न खोजेको मेरो कविता
आकाशबाटै अपहरणमा पर्यो
म आम मान्छे
मेरो वशमा नभएको परिवेश
देशको जिम्मा लिएका गैर जिम्मेवारहरुद्वारा
लुटिएको मेरो कविता
मेरा सरल शब्द
सरल मन
मेरो मनको अवाचित शब्दको
शिल्पी स्वार्थीको गहन विश्लेषण
प्रफुल्लित म
मेरो आशाको कविता
वकिरहेछ नेता
मेरो नेता
निर्वाचन
मेरो मत
परिणाम
मेरो हार ऊ विजेता
सधैँ यस्तै यस्तै
चलिरहेको चक्र
हरेक तन्त्रमा केरमेट भएको मेरो कविता
भाव थिग्रिन नपाउँदै राह गुम बनाउने
देश हाँक्नेहरू महाकविको छद्म भेषमा
मेरो कविताको लय मिलाउन खोज्दैछन्
अरूको कवितासँग जुधाउन खोज्दैछन्
अरूका कविता पनि सरल, मेरा पनि सरल
तर सरल कविताको वादविवाद गराई बनाउँदैछन् क्लिष्ट
आफ्नो स्वार्थको लागि आफ्नो राह बनाउँदै
सदियौँदेखि
म गुमराहमा परेको कवि
मेरो मन प्रवासमा उछिट्याइएर
स्वदेशले हेला र विदेशले रेला गरेजस्तो
आफ्नैको पराइ र पराइको आफ्नो व्यवहारजस्तो
जताबाट पनि प्रयोग भएको
म र मेरो कविता
म गुमराहमा परेको कवि
मिलेमतो आफ्नैको
म नमिलेको जातभातको सिता
चाहे प्राचीन, चाहे नयाँ युग अहिलेको
नवीन गुमराह सिर्जना हुँदैछ
मलाई गुमराहमा पार्ने
घटना घटे हजारौँ काण्ड सयौँ मिलमतोमा
मेरो मन अनविज्ञ
मेरो कविता अक्षरविहीन बन्यो
सर्वविदित भएका केही घटनामा
फुरेका विद्रोहका कविता
भावाकाशबाटै विलिन पारिए
मेरो कवितामा शक्ति थिएन
किनकि,
म शक्तिहीन आम मान्छे
म प्रकाश नभएको रवि
आफ्नो राहमा प्रकाश पार्न नसक्ने
अरूको राह प्रकाशमा
पाइला चाल्ने आम कवि
विधान पालन नभएको देशमा
म कुन राहमा परेँ ?
मेरो वशमा छैन मेरो छवि
म गुमराहमा परेको कवि
You will also like
My Happiest Hour
- 6
- 1722
दर्द
- 1
- 1708
"लग्ता हे "
- 1
- 1636
काश ~ बता पाता
- 1
- 1620
"मलाई पोल्छ"
- 1
- 1508
A Final Plead!
- 0
- 1508


Leave a Comment: