अचेल संगीतमा साधना हरायो

‘अचेल गीतमा गहन विषय हराउँदै गयो,’ नेपाली गजल गायनमा अग्रसूचीमा रहेका ‘भर्सटायल’ गायक आनन्द कार्की यतिबेला आफँ क्लबगीत गायनसम्म पुगेका छन् । तर, उनी शाब्दिक रूपले ‘उदांगो’ र ‘हल्का’ गीत गाउँदैनन् ।

लखनउ पढ्दाताका नै साथीहरूको ‘स्पार्क’ सांगीतिक ग्रुप बनाएर गायन यात्रा सुरु गरेका गायक कार्कीको औपचारिक सांगीतिक यात्रा भने ०४२ सालमा सुरु भयो । रेडियो नेपालमा उनले ‘जीवनमा धेरै खोला तर्नु छ’ गाए । स्वर परीक्षा पास गरे । त्यहीवेला ‘तिम्रो पनि मुटु भए’ गीत रेकर्ड गराए । ‘त्यसवेला अहिलेजस्तो प्राविधिक (टेक्निकल) गायन हुँदैनथ्यो,’ कार्कीले उसवेलाको गायन परिवेश सम्झिए, ‘आवाज वरदान नै हुनुपथ्र्यो । रियाज गर्नैपथ्र्यो । एरेन्जर, संगीतकारकोमा गायकले हप्तौँ धाउनुपथ्र्यो ।’ एउटा गीत गाउन हप्तौँ, महिनौँ अभ्यास (रियाज) गरेर आजको स्थानमा आइपुगेका गायक कार्की अचेल प्रतिभाभन्दा प्रविधि बढी हाबी भएको अनुभूति गर्छन् । 

‘अचेल त जो पनि गायक बन्न सक्छ,’ उनले भने, ‘अचेल प्रतिभा, समर्पण सांगीतिक ज्ञान, शास्त्रीय संगीत, रियाज, आवाज र साधनाभन्दा पनि रहर पूरा गर्न, समय बिताउन र चर्चा कमाउन कलाकारितामा लाग्नेहरूको जमात बढेको छ ।’ त्यसवेला एउटै गीत रेकर्ड गर्न हप्ता दिन लाग्ने, दर्जनौँ टेक दिनुपर्ने अनुभूति उनले संगालेका छन् । वाद्यवादक, संगीतकार, ऐरेन्जर, रेकर्डिस्टदेखि अग्रजहरू एकै थलोमा बसेर गीत रेकर्ड हुन्थ्यो । रेकर्ड गर्दा एकपटकमा ‘ओके’ हुँदैनथ्यो । ‘अझ राम्रो बनाउन संगीतकार, एरेन्जर, वाद्यवादक, रेकर्डिस्टले सुझाब दिन्थे,’ उनले सम्झिए, ‘त्यसले अपनत्व मात्र होइन, गीतमा फिलिङ्स आउँथ्यो ।’

गीतको मुखडा पाँचपटक दोहोरिएको छ भने त्यसवेला पाँचैपटक गाउनुपथ्र्यो । त्यसले गायकको गायकीलाई अझ माझ्ने काम गथ्र्यो । सबै पक्ष एकै ठाउँमा भेला भएर गीत तयार गर्दा भावनात्मक रूपले गीत मर्मस्पर्शी बन्थ्यो । ‘अचेल शब्द गाएर एरेन्जरलाई पठाइदिए पुग्छ,’ उनले भने, ‘मुखडा जति ठाउँमा दोहोरिए पनि कपी पेस्ट भइहाल्छ, संगीत, सुर र रिदम प्रविधिले भर्ने काम हुन्छ । यसले गर्दा अचेलका गीत ‘आर्टिफिसियल’ बढी छन् ।’ पछिल्लो समय गीतमा फिलिङ्स छैन । मर्म, संवेग, भावविहीन बन्दै गएको उनको बुझाइ छ ।  प्रविधिको सहाराले गायनमा लागेकाहरूलाई लाइभमा गाउन भने गाह्रो हुने उनी देख्छन् । ‘टेक्नोलोजीले त सबै कुरा ठिकठाक पारिदिन्छ,’ उनले भने, ‘लाइभमा प्रतिभा चाहिन्छ, त्यो नभएपछि दर्शक–स्रोताको अपमान सहनुपर्ने अवस्था आउँछ ।’ 

० दुई पुस्ता  
सोलुखुम्बुको तिङलामा जन्मिएका गायक आनन्द कार्कीको अध्ययन भारतको लखनउमा भयो । बुबा विष्णुबहादुर कार्की भारतीय सेनामा जागिरे भएकाले उनले उतै पढे । उतै संगीत सिके । लखनउमा बनाएको स्पार्क सांगीतिक ग्रुपमार्फत कार्यक्रम प्रस्तुत गर्न उनी काठमाडौं आए । त्यो १५ दिनको बसाइमा नेपाली सांगीतिक क्षेत्रका व्यक्तित्वसँग उनको सम्बन्ध गाँसियो । १३ वर्षकै उमेरमा बुबाको स्वर्गे भएपछि उनी आमा विष्णुमाया र दाजुहरूको अभिभावकत्वमा हुर्किए । 

‘लखनउमा पढेकाले उर्दू र हिन्दी भाषामा राम्रो ज्ञान थियो,’ उनले भने, ‘मैले हिन्दी, उर्दूमा गजल गाएँ तर त्यहाँ माया पाइनँ ।’ त्यो माया काठमाडौंमा पाएँ । ‘लवजका कारण धेरैले मलाई ‘इन्डियन’ पनि भने,’ सय रुपैयाँ लिएर काठमाडौं पस्दाको दिन सम्झिए, ‘तर पछि मेरो कला र गला धेरैले रुचाउनुभयो । एकाएक मेरो सम्बन्ध ‘हाइप्रोफाइल’का व्यक्तिसँग विस्तार हुँदै गयो ।’ 

रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गरेपछि कार्कीले ०४२ देखि शक्तिवल्लभ, नारायणगोपाल, नातिकाजी, गोपाल योञ्जन, शम्भुजित बास्कोटा, प्रेमध्वज प्रधानलगायत अग्रज संगीतकर्मीसँग सहकार्य गरे । बलिउड नायक नाना पाटेकर अभिनीत ‘२० रुपैयाँ’ फिल्ममा उनले ‘बहेती जायरे जायरे देखो जीवनकी धारा’ गीत गाए । अमिताभ बच्चन ‘खुदा गवाह’को सुटिङका काठमाडौं आउँदा उनले सँगै गीत गाए । ‘त्यो क्षणले गर्दा आज पनि अमिताभजीसँग  राम्रो सम्बन्ध छ,’ उनले भने । भारतमा सचिन सिंह, जतिन ललित, मनहरि सिंहहरूसँग काम गरेका कार्कीको गायकीको जादुले दरबारसम्म सम्बन्ध गाँस्यो । यद्यपि उनी अचेल समयअनुसारको प्रकाशबाबु थापाको शब्दमा ‘तिमीसम्म’ जस्ता क्लबगीतसमेत गाउन भ्याइरहेका छन् । 

० दरबारसँग साइनो 
‘कलाको सम्मान हुन्छ भन्ने कुरा मैले गहिरो गरी महसुस गरेको छु,’ वरिष्ठ गायक कार्कीले दरबारसँगको सम्बन्ध सम्झिए, ‘म स्वतन्त्र मान्छे, त्यसवेला राजपरिवारसँग थोरैको मात्र पहुँच हुन्थ्यो । मान्छे सम्बन्ध बनाउन करोडौँ खर्च गर्थे । मलाई राजा वीरेन्द्रले बोलाउनुभयो ।’ दरबारमा कार्यक्रम भइरहन्थे । उत्सव, रमाइलो जमघट र पारिवारिक भोजमा गायक आनन्द कार्कीलाई निम्तो आइहाल्थ्यो । उनी दरबार पुग्थे । गजल गाउँथे । 

‘एक दिन राजा वीरेन्द्रले ‘आऊ आनन्द सँगै खाऊँ’ भन्नुभयो, हामी डाइनिङ टेबलमा बस्यौँ, रानी ऐश्वर्याले सर्भ गर्नुभयो,’ उनी भावुक बने, ‘उहाँहरूले देखाएको त्यो मायाले यस्तो अनुभूति भयो कि उहाँहरू नै मेरा आमाबुबा हुन् ।’ गायक कार्कीलाई राजा–रानीले दिएको त्यो माया ‘सम्मान’मा फिर्ता गर्ने हुटहुटी चलिरह्यो । एकपटक उनी डेनमार्क गएका थिए । घुम्दै जाँदा एक ठाउँमा उनले ‘सिगार’ खाइरहेका संसारभरिका राजाको तस्बिर देखे । त्यहाँ वीरेन्द्रले सिगार खाइराखेको फोटो पनि थियो । ‘पाँच हजार तिरेर मैले सिगार किनेर ल्याएँ,’ कार्कीले सुनाए, ‘ल्याउन त ल्याएँ, दिने कसरी ? सचिवालयमार्फत दिऊँ भने पुग्ला नपुग्ला भन्ने द्विविधा भयो ।’ चार महिनापछि तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घरमा उनलाई सांगीतिक प्रस्तुतिका लागि निम्तो आयो । लोकेन्द्रबहादुरका छोरा घरमै लिन आए । कार्की सिगार बोकेरै गए । राजालाई उपहार दिने इच्छा जाहेर गरे । ‘मैले हातैमा सिगार उपहार दिएँ,’ उनले राजाको तत्कालीन प्रतिक्रिया सम्झिए, ‘आनन्द, तिमी निकै संस्कारी रहेछौ । खुसी लाग्यो ।’

० यादहरू
भारतीय सेनामा कार्यरत बुबाले आनन्दलाई ‘छोरा केही बनोस्’ भनेर उतै लगे, पढाए । ‘म १३ वर्षको हुँदा नै पिताजी बित्नुभयो,’ भावुक हुँदै उनले सम्झिए, ‘पिताजीलाई अरू छोराछोरीभन्दा मेरै चिन्ता बढी थियो । आज मैले गरिखाएको छु, अलिकति नाम पनि छ, त्यो उहाँले देख्न पाउनुभएन !’ ०५८ साल जेठ १९ गते । राजदरबार हत्याकाण्ड भयो । ‘राजपरिवारसँग मेरो गहिरो सम्बन्ध थियो । मेरा लागि उहाँहरू अभिभावकजस्तै हुनुहुन्थ्यो,’ गायक आनन्दले अनुहार धमिलो पार्दै भने, ‘उहाँहरू नरहेपछि म ६ महिनासम्म विरक्त भएँ, साँच्चै भन्दा त्यो एक अभिभावकीय संस्था थियो । देशकै लागि अभिभावकहीनता सिर्जना भयो ।’

० सम्मान 
‘आनन्द कार्कीका गजलहरू’ पहिलो एल्बम ल्याएका गायक आनन्दले तीन हजार गीत गाइसकेका छन् । ‘नबिर्सनु’ १६औँ एल्बमको तयारीमा उनी छन् । उनले दुई सयभन्दा धेरै सम्मान–पुरस्कार र मायाको चिनो प्राप्त गरेका छन् । गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट, दुईपटक छिन्नलता पुरस्कारदेखि गीत–संगीत क्षेत्रका प्रायः सबै पुरस्कार उनले हात पारिसकेका छन् । उनले सन् १९९८ मा लन्डनमा आयोजना भएको सारेगम ः अन्ताक्षरीमा अवार्ड हात पारे । ‘अवार्डभन्दा ठूलो खुसी बलिउडका हस्ती किशोर कुमार, जगजित सिंह, मेहन्दी हसनजस्ता मेरा अग्र्रजका अगाडि उभिएर गाएँ,’ उनले भने, ‘सोनु निगमले होस्ट गरेको त्यो कार्यक्रममा दर्जनौँ देशका सय कलाकार सहभागी थिए ।’

० गीतको गाथा
‘गीत मेरा लागि भनेर लेख्ने र गाउने हो भने त्यसले धेरैलाई छुँदैन,’ आनन्दको दर्शन छ, ‘गीत त जसले सुन्यो उसैका लागि हो जस्तो हुनुपर्छ ।’ मान्छेले चुक्ली लगाउँछन्, यसले कतिको सम्बन्ध बिग्रन्छ, कतिको घरबार पनि । आनन्द कार्कीले ‘यी हल्लाहरू हुन् तिमीले सुनेका’ गाए । धेरैले मन पराए । ‘धेरैको भोगाइसँग मिल्यो, चर्चित भयो,’ उनको जीवनमा मिल्यो कि मिलेन होला ? उनले भने, ‘किन नमिल्नु, कुरा लाउने वा शंका उब्जाउने अवस्थाहरू त भइहाल्छन् नि ।’ एक दिन गायक आनन्द एक्लै कोठामा बसिरहेका थिए । भित्तामा झुन्ड्याइएको धर्मपत्नी ईश्वरी कार्कीको तस्बिरमा नजर प¥यो । 

श्रीमती घरमा नभएको मौका पारेर उनले गीतको एक हरफ फुराए, ‘मेरो हजुर तस्बिरमा मुस्कुराउनुहुन्छ’ कालीप्रसाद रिजालले त्यसलाई पूर्ण गरे । त्यो गीत सदाबहार बन्यो । उनले चलचित्र, आधुनिक र क्लबगीतसमेत गाएका छन् । ‘गहन शब्द, अर्थको गाम्भीर्यभन्दा यहाँ मदिरा खाएर नाच्ने गीतको बजार बलियो भयो,’ गायक आनन्दले असन्तुष्टिपूर्ण शैलीमा भने, ‘अचेल बिम्बात्मक, भावनात्मक वा अर्थ बोकेका गीत ओझेलमा छन् । भन्न हुने–नहुने शब्द सीधै भनिदिने, मदिरा पार्टीमा उफ्रन मिल्ने गीतको बजार छ ।’ क्लबगीत गाए पनि उच्छृङ्खल शब्द र भाव बोकेको गीत नगाउने कुरामा उनी स्पष्ट छन् । ‘वर्षका एक लाख गीत बन्छन् । त्यसमध्ये दुई–चारवटा कमर्सियल गीत चल्छन् । बुस्ट गरेर, निकै प्रचार–प्रसार गरेर, जता गयो त्यही सुन्नुपर्ने अवस्था बनाएर,’ गायक आनन्द बोले, ‘भाइरल बन्छ, बनाइन्छ, जे–जे हुन्छ, त्यो पनि हुन्छ, पर्दापछाडि नै ।’ 
 



Leave a Comment: