.प्रिय सहनशिला

प्रिय सहनशिला,

कसरी सम्बोधन गरौ? तिम्रो प्रेम अनि त्याग लाई, परदेशको कुनाबाट

अनि तिम्रो जिज्ञासा र प्रश्नको उत्तर? तैपनि साहस जगाउदै छु . यो पत्र किन भिजेको छ?भनि प्रश्न नगर्नु ल | बुझेउ होला त्यहि पसिनाले  तर यसचोटी आँसु पनि मिसिएछ थाहै नपाई | म एकछिन सोच्न अनि मेरो बोलि बन्द भएछ/ आशा र विश्वासको बिद्यालय भर्ना सम्बन्धमा तिम्रो जिज्ञासाले/ तातो वालुवाको तापले भन्दा पनि तिम्रो प्रश्नले गर्मी बढेछ

सम्झ यो पत्र आँसुले लेख्दैछु, अनि हाम्रो भविष्यको भाग्य पसिनाले लेख्दैछु | तिम्रो नाम कसले जुरायो, त्यो त थाहा छैन, तर पनि समुन्द्र झैँ शान्त, सुशील अनि सहनशील कि खानी सहनशीला, सहि छ सहि | पल पलको छाल अनि सुनामी पनि समाल्ने खै कुन् शब्दले पुकारौ |तिम्रो जीवन पनि त्यो भन्दा कम छैन/ तै भएर आफुलाई गर्व गर्छु, सम्बन्धका त्रिवेणीको बिचको ढुंगा हौ | सन्तुलनमा छौ सहनशीला | अक्कर पहाड कि शिला अडिग, स्थिर र गम्भीर छौ, सहनशीला |

भविष्यको जग खन्न तिम्रो चिन्ता र सोच कति महान छ? भन्छन् बत्तीको पींधमा अँध्यारो हुन्छ/ तर यो उखान भन्दा ठिक विपरित छौ/ परदेशी मलाई त काम र दाम मै व्यस्त भएछु/ आशा र विश्वासको भविष्य भन्दा ठुलो के नै पो छ होला? शैक्षिकसत्र शुरु पो भएछ! नेपालमा दिन र रात हुन्छ होला, तर यहाँ त अन्धकार छ संधै/ परिवारको सम्झनाले मुटु पोल्छ अनि आँखाबाट भेल बग्छ साथै चाँडो फर्किने आशमा कर्म गरो शरीरबाट पसिनाको बाढी आउछ/

तिमीलाई थाहा छैन होला खाडी मुलुकमा आर्थिक मन्दी छ/ धेरै कम्पनी बन्द भए केहि बन्द हुने क्रममा छन्/ धेरै मजदुर फर्किसके, कोहि अलपत्र छन् अनि हामी अनिश्चित छौं, हाम्रो भविष्य के हुने होला? साहुको ऋण तिर्न पाए पनि ढुक्क हुन्थियो होला/ तिरी सकेपछि दुई चार पैसा घर पठाउन पाए पनि छोराछोरीलाई एकछाक मिठो खान र एकजोर नाना किन्दिन पाए अनि उनीहरुको नयाँ नाना सहितको फोटो हेर्न पाए पनि शितल हुन्थियो होला/ फेरि उनीहरु गीत गाउदै नाचेको भिडियो हेरिरहन पाए नजिक छु भन्ने महसुस हुन्थियो होला:

बाबाले परदेशबाट ल्याएको नाना

राम्रो छ कि छैन, लौ साथी भन

यति- यति पानी घगे रानी

यहि लुगा लाएर सानी

हामी दिदि भाई स्कुल जानी

यति- यति पानी घगे रानी

 

ओहो! यो रहर र खुशी हरेक अभिभावकको सपना हो/ तर सपना साकार हुने या अन्धकारमा रुम्मलिने खाडी मुलुकमा भर पर्नुछ अनि आश र त्रासका साथ पल पल जिउदो लाश भै मर्नुछ/

ए सांची! हाम्रो नेपालमा सरकारी र निजी बिद्यालय छन् | कस्तो छ सरकारी विद्यालयको स्थिति?२ – ४ वटा त राम्रै छन् भनेको सुनेको छु/ फेरियहाँ साथीहरु त भन्छन् सरकारी विद्यालयमा त नपढाउनु | पहिले जस्तै छ विद्यालय कि परिवर्तन भयो?कोर्स पुराहुदैन रे नि?विद्यालयमा कतिको राजनीति हुन्छ? शिक्षकहरु राजनीति पार्टीको झन्डा बोकेर कतिको भोट माग्न आउँछन्? अनि फेसबुकमा आफ्नो नेताको गुनगान गाउदै स्टाटस र कमेन्टहरु हालेको देख्छु/ सुध्रेकी सुध्रेनन?

त्यति बेला मैले पनिलहै-लहैमा संगठनको झण्डा बोक्न भ्याए, दुश्मन पार्टीसंग झगडा गरियो र टाएर बाल्न पनि पाइयो/ खुब मज्जा आउथ्यो/मैले पनि त्यहि संस्कार सिके पढ्न भन्दा राजनीति पार्टीको झन्डा बोकेको फल आज खाडी मुलूकमा भारी बोक्दै छु, त्यो भन्दा भारी परिवार छोड्नुको पीडा र दुख/ केहि साथी मन्त्री पनि भए तर सोच उही ढुंगा हान्ने, टाएर बाल्ने र नेपाल बन्द गर्ने भन्दा माथी भएन/किनकी संस्कार गलत थियो र समय अनुसार परिवर्तन भएनन्/ अन्ततः विडम्बना देश गरिव भयो र हाम्रो भविष्य अन्धकार भयो/

कतै तिम्रो सोच छोराछोरीलाई बोर्डिंग पढाउने त छैन? फेरि निजी विद्यालय त महँगो होला? श्वास फेरेको फिस पनि तीर भन्छन् रे! साथीहरुले भनेको मेरो तलव त छोरो पढाउदै जान्छ रे/ के के फिस तिर्नु पर्छ अनि कति लाग्छ? अलि डिस्काउन्ट गर्न मिल्छ भने सोर्स र फोर्स पनि लाउने हो कि? यहाँ त अंग्रेजी नबोल्ने त अन्धो हुनेरहेछ/ फिलिपिन्सका साथीहरु आठ कक्षा पढेको जति पनि हामी शीपमा दक्ष छैनौं/ हाम्रो शिक्षाको उद्देश्य अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने भन्ने त कागजमा मात्र रहेछ/त्यसैले बोर्डिंगमाकेहि नभए पनि अंग्रेजी त बोल्छ, पढ्न सक्छ/ पुगेन भने खेत र सुन गहनाहरु बेच्ने कि बन्दकी राख्ने आफैं निर्णय गर/ यहाँको भर नपर/ आर्थिक मन्दी छ/

 

याद छ नि कलेज पढदा तिमी र मेरो पनि त जुलुशमा पहिले नजर जुधेको अनि संगै भाषण गर्दा नेपाल बनाउने सपना देखेको | संगै कति ढुंगा हानेउ, जलायौ, भत्कायौ र पुलिसलाई पराइ शत्रु ठानी ज्यादती गरेउ| त्यसको प्रतिफल घर त बनो,तर देश बनेन/ किनकि हामी गलत रहेछौ/ देश बन्न त काम पो गर्नु पर्ने रहेछ | राज्यप्रणाली जे भए पनि समृद्ध देश बनाउन, कुरा बजाउनु भन्दा चुरा बजाउनु पर्ने रहेछ/ यहाँ आएर पो थाहा भयो |

सानोमा डाक्टर, इन्जिनियर बन्ने सपना देखियो, युवामा आफूलाई बिर्सेर देश बनाउने सपना देखियो दुवै फेल खायो/ अब हामीलाई समयले एउटा अवसर छोडेको छ भविष्य बनाउने/ आशा र विश्वासको भविष्य, हाम्रो आँखाले देख्ने क्षितिज - आशा र विश्वास |संस्कार सबै भन्दा ठूलो रहेछ कम्तीमा आशालाई सरकारी विद्यालयमा भर्ना गरौ कि विद्यालय सुध्रिने आशमा, बोर्डिंगमा विश्वास लाई पढाउ है सबैको बिश्वास छ रे किनकी समाज र देखाशेखी गर्नै परो |

तिम्रो नजरको पलपलको झलक

सन्जोग कार्की

बेनीबजार, म्याग्दी



Leave a Comment: