सर्वाधिक सफल प्रेम पत्र, २०७४

प्रियत्तम दिलु,

प्रस्ताव प्रेमको, समर्पण मायाको, खै! कसरी शुरुवात गरु प्रणय दिवसमा? विवस छु मनका भावना उम्लिएर छताछुल्ल हुन् आटदैछन यो वेगले कतै तिम्रो कोशी बाँध फुट्ने डर पनि छ । प्रणय दिवसमा प्रेमरुपी कुराहरु खै! कसरी शुरुवात गरु अन्तर्मनका धड्कन रुपी सुनामिहरु ।

प्रिय दिलु,
म तिम्रा नयनका पर्दामा कसरी नजरबन्द भएछु । म तिम्रो त्यो निर्दोष नजर र मिठास मुस्कानमा म कैदी भएछु । म आफै अज्ञात अनि अज्ञान छु ।

भन्छन प्रेम अन्धो हुन्छ, प्रेमी पागल । हो म पागल हुँ, तिम्रो प्रेमको लागि । केवल पागल, निरंकुश तिम्रो प्रेमको दासी घोषणा गर्दै तयार छु तिम्रै प्रेमी बन्नको लागि ।

भागी नजरबाट सात समुन्द्र किन नहौउ पार, म तिम्रा पाइला बनी पछ्याई रहन्छु । मनको तड्पन अनि मुटुको धड्कन कसरी रोक्न सक्छु, आखिर तिमि नै नभए कसरी बाँच्न सक्छु म? आखिर सक्छु केवल साँचन यी अनुभव अनि भावनाहरु । तिमी मान या नमान, लाखौंमा मलाई छान या नछान, मैले तिमीलाई नै मनले अपनाई सके । मैले मेरो मुटु रुपी जग्गा तिम्रो नाममा नामसारी गरि सके । अब, म, मेरो रहिन। म तिमी मै बिलिन भैसके । मात्र तिमी, तिमी म, तिमीमा हराईसके । हो, हरेक कित्ता-कित्ताहरू तिम्रो नाममा पास गरिसके ।
हो, मलाई लाग्छ, मिलन किन? बोलचाल किन? अनि सामिप्यता किन? लाग्छ खै भेटले मनको दुरी घटे होलान, थाहै नदिई अदृश्य पुल बने होलान  । दिलु, भाँडा माज्दा, लुगा धुदा नजर जुधे, वदन ठोकिए थाहा नै छ, तर मन-मनको वात बुजिएन नि कति लाचार अनि विवश मन रोक्नै नसकिने । भित्रभित्रै उम्लिने, फुट्ने धम्की दिन्छ, दिनरात अनि पल-पल खै त मेरो भावना बुजेको? किन? दिलु, किन? उफफ ....! प्रेम प्राप्तिका लागि मनकामना भाक्छु, देवीसंग वाचा गर्छु साँचो माया हो भनि एकचोटी सम्झाउछु । भावना अनि चाहना मन भित्र गुम्सिएर, उम्लिएर वाफ झैँ आयतन बढेर उकुसमुकुस छन् । सधैं एउटा प्यासेज, कोठा आमनेसामने, तिम्रो चप्पल र मेरो चप्पल हररात वात गरे, तिमीले फेर्ने श्वास-मैले फेर्ने श्वासमा कति नै फरक छ? यति हुँदाहुँदै पनि विज्ञानको सिधान्त - चुम्बकीय आकर्षण हाम्रो जीवनमा लागु हुदैन र? अनि तिम्रो मुटुले अनुभूति लिदैन र । साथ दिदा प्रेमको मात बढिरहेछ, अव्यक्त माया चरी झैँ उडान लिन चाहन्छन, फूल झैँ फक्रिन चाहन्छन, बिज झैँ उम्रिन चाहन्छन । सधै तिम्रा समिपमा बेहोसी छु, होस् रहेन नजर जुधाई ले पनि । शुभेच्छुकहरुको साथ पाए, आशिर्वाद पाए, तिम्रो मुस्कानको खात-खात पाए वश यो संकेतहरु भ्रम होइनन्, यसलाई चिर्ने अनि तिम्रो मुटुमा छिर्ने र वास बस्ने मैले कहिले? फेरि पनि सोध्छु मैले फेर्ने श्वास अनि तिमीले फेर्ने श्वास बीच कति फरक छ? तिम्रो फोक्सो र मेरो फोक्सोले पनि फेर्ने श्वास पनि त साटिदो होला कति । एउटा छतको पलेँटीमा रोदीघरका आभास दिन्छौ । तिम्रा पाइला मेरा पाइलाको दूरी कति नजिक छन्? मनको फित्ता अनि बित्ताले कहिले नापेको छौं? के तिम्रो मुटु अनि मेरो मुटुले खेल्ने दोहोरी झैँ तिम्रो कोठामा बज्ने शिठी अनि मेरो भान्सामा बज्ने शिठीले खेल्दैन र, दिलु? खेल्छन, दिलु, खेल्छन ।

आखिर तिमी नै किन मेरो जीवनमा अभाव खड्कियो, साँचै पूर्ण मायाका आधा-आधा हिस्सा नै हो भन्ने प्रश्न तिम्रो होला अनि मेरो पनि? तर माया र प्रेम ठोस हुदैन, कति हुन्छ र कसरी हुन्छ, तर्क र शर्त पनि छैन होला हामीमा । कति बयान गरौ तिम्रा अधर अनि नजरको, ब्याख्यैव्याख्या छ चाल अनि तालको, प्रशंसाका शब्द छैन झन् तिम्रा ओठका मुस्कानको, ओहो! भुलेछु सम्झन झन्डै ति केश लहरी वर्णन गर्न, अन्याय नै हुनेथियो सुन्दरताको मन्दिर ठड्याउने क्रममा । ओठबाट हरपल फुत्किने अमृत वाणी पोखीदिने, कोहि कसैको मन जिती मथर बनाइदिने, पत्थर मुटु जादु नगरले पगालिदिने, सोच्छु अनि सम्झिन्छु, प्रश्न के छ भन्दा पनि के छैन मा गएर रोकिन्छु । तिमी पूर्ण छौं, मात्र मुटु खाली । भर्न अनुमति देऊ, आतुर छु प्रेमको घडा रित्याई ।

वैभव अनि शक्तिशाली मृदुभाषी रुपकी खानी हौ,
बोली व्यवहार सर्वगुण सम्पन्न आँखाकी नानी हौ,
सानी चंचल तिमी भाग्य कोर्ने मेरो मनको रानी हौ ।
नजर जुधे किन जीवनका मोडहरुमा, कति वदन ठोकिए । समवेदनाका वेगहरु बाँधिएर अटसमटस छन् । दैनिक फुस्रा गफहरुले भावनाहरु हल्का भए, प्रेमको उपहास भैरहे । मात्र एकचोटी पर्दा पन्छाएर हेर, भावना कति छटपटाईरहेछन् । गम्भीर छु, एकचोटी सोच्न बाध्य छु, केवल त्यो हाँसो, जीवनको पासो त बन्ने होइन । प्रेमको नासो नखोली मृत प्रेम स्वर्गवास भै आर्यघाटमा सेलाउने त होइन । शौभाग्यको भोटे ताल्चा फोर्न , दुर्भाग्य टार्न, इतिहासमा स्वर्णिम अक्षर कोर्न, सोची सम्झी अनि बुझी निर्णयको संघारमा टेकी सके, राखी प्रेम प्रस्ताव।

अनुरोध अनि आशा र विश्वास छ ।
दिलको शिल खोली देऊ। छ माया भनि एक चोटी आँखा सन्काइ देऊ। स्विकारी माया, मै माथी छ भनि एकफेर बोली देऊ । यो डडेलो जीवनमा वर्षा बनी हर्षका फूल फुलाई देऊ । झ्याम्म प्रेम वृक्षहरुमा लटरम्म मायाका फलहरु फ़लाइदेउ । निर्विकल्प जवाफ “येस-येस- येस” भनि मेरो माया पोखिन सक्छ, तिम्रो मन मुटुमा संगाली देऊ ।

उही तिम्रो दुखी आत्मा
सम्राट खड्का,धनगढी



Leave a Comment: