प्राणी अस्तित्व र वनको महत्व :
वन, जंगल, अरण्य, विपिन, कानन आदि शब्दहरूले प्रकृतिको त्यो स्वरूपलाई जनाँउदछन जहाँबाट सृष्टिको संरचनामा "जीवन" नामको नौलो आयाम थपिएको थियो। माटो र पत्थरको निर्जिव धरामा जब वनस्पतिहरूको उत्पति भयो तब पृथ्वीको निर्जिव छातिमा प्राण सञ्चार भयो।
विविध वनस्पतिको विराट स्वरूप अर्थात वनको विकास भएसँगै धर्तीमा जीवअनुकुल पर्यावरण तयार भयो र यहाँ जीवमण्डल (Biosphere) को रचना संभव भयो।
वन प्रकृतिको त्यो अनुपम संरचना हो जो संसारका हरेक प्राणीहरूको जीवनको अस्तित्वसँग प्रत्यक्ष जोडिएको हुन्छ। हरेक प्राणीहरूले प्रत्यक पल फेर्ने श्वासप्रश्वास प्रक्रियाको लागि अत्यावश्यक प्राणप्रद वायु अक्सिजनको चक्र वनबाट नै प्रवाहित हुन्छ। प्राणवायुको अतिरिक्त प्राणीको लागि अर्को अत्यावश्यक कुरा हो - जल । यस धरालाई आजसम्म जिवित राख्ने प्रमुख प्राकृतिक यौगिक जल हो। जलचक्र प्रकृतिमा निरन्तर चलिरहन्छ। सदाबहार हरिया रूखको पातमा प्रकाश संष्लेषण प्रक्रिया हुँदा पातमा रहेको पानी उत्स्वेदनद्वारा समुन्द्रको वाफसँगै वायुमण्डलमा गएर बादल बन्छ। सोहि बादलको पानी बर्षा बनेर बर्सिन्छ। त्यो पवित्र जलले माटो रसाएर उर्वर बन्छ। त्यहिँ उर्वर माटोमा उब्जिएका अन्न, फलफूल, घाँसपात, सञ्जिवनी बुटि आदिले प्रदान गरेको उर्जा नै हरेक प्राणीको शरीरमा प्रवाह भैरहेको छ। साथै, वनमा रहेका ठुला ठुला रूखका जराहरूले माटोलाई राम्रोसँग कसेर राख्छन जसको कारण भुस्खलन वा भुक्षय जस्ता विनाशकारी प्रकोप आउन सक्दैनन। र सम्पुर्ण प्राणीजगत सुरक्षित रहन्छ। अत: पृथ्वीका स्थलप्राणीहरूको उत्पत्तिस्थल, पालनकर्ता र संरक्षक वन हो।
संसारमा सर्वप्रथम सांसारिक ज्ञान र चेतनाको अंकुरण मानव मगजमा भएको थियो । त्यो आदिमानवको जन्म, उसमा प्राकृतिक उर्जाको सञ्चार, सामाजिक सभ्यताको विकास, उसको संस्कृति र जीवनपद्वतीको निर्माण वनबाट भएको तथ्य हाम्रा प्राचीन ग्रन्थ, वैदिक साहित्य र विभिन्न खोज अनुसन्धानहरूमा भेट्टाउन सकिन्छ। त्यसैले हाम्रो आजको अतिनुतन वैज्ञानिक सभ्यताको पहिलो पाईला वन हो भन्न सकिन्छ। वनजंगल वास्तवमा बोट, बुट्यान, बिरुवा, रूख, खोला, खोल्सा, वन्यपशुहरूको वस्तुपरक चित्रमात्र होइन यो त प्रकृतिको विशिष्ट आत्मपरक रूप हो । रसिक हृदय लिएर एकछिन कल्पलोकमा जाने हो भने हाम्रो पृथुतम पृथ्वी अलकाको छबि लाग्छ। यो धराको आवरणमा विछ्याईका हरिया तन्नाजस्ता सदावहार वनजंगल हाम्रा नन्दन लाग्छन । जहाँ संगीत कोकिल बनेर पञ्चम राग गाउँछ। जहाँ प्रकृति स्वयं मयुरको रूपमा पंख फिजाएर नाच्ने गर्छिन। जहाँ गुराँसको रंग बनेर वसन्त बहार पोखिन्छ। जहाँ मौसम ऋतुरानीको भेषमा अनेक अभिनय देखाउछ । पृथ्वीमा रहेका कयौँ संसारहरूमध्ये एउटा जीवन्त र विचित्र संसार वनभित्र लुकेको हुन्छ। त्यसैले वनलाई वनमात्र होइन प्रकृतिको विशिष्ट उपवन भन्न मन लाग्छ।
वनविनाशका कारण, असर र जीवनको अस्तित्वमाथि खतरा :
पृथ्वीमा प्राणीहरूले सजिलोसँग जीवन बाँच्नको लागि सन्तुलित वातावरण अपरीहार्य हुन्छ। त्यसको लागि धर्तीको कूल हिस्साको न्युनतम ४०% भन्दा बढी वनजंगल हुनु जरूरी छ। जीवनका दुई आधार "स्वच्छ हावा र स्वच्छ पानी" को निरन्तर आपुर्तिको लागि वनजंगलको विकास आवश्यक पर्छ। बुद्धि, विवेक र चेतनाको कारण सर्वश्रेष्ठ कहलिएको प्रकृतिको सन्तान मानवले मात्र आफ्नो र अन्य सजिव प्राणीको रक्षार्थ वनसंरक्षण र विकासमा सार्थक भुमिका निभाउन सक्थ्यो। तर आजको मानव दुनिँया वनजंगलको विकासतर्फ होइन विनाशतर्फ उद्धत भएको देखिन्छ। यसका पछाडी विभिन्न आर्थिक सामाजिक, साँस्कृतिक कारणहरू रहेका छन।
मानव प्रकृतिको स्वच्छन्द पर्यावरणबाट सामाजिकिकरणको विकसित अध्यायमा प्रवेश गरीसकेपछी उसका प्राथमिक आवश्यकताहरू : खाद्यान्न, आवास, ईन्धन, आदि पुर्ति गर्नका लागि वनजंगल नै उपयोगी सिद्ध भए। समयको गतिसँगै पृथ्वीमा मानवको जनसंख्या बढ्दै गयो। उसका आकांक्षा र आवश्यकताहरू पनि थपिदै गए। ती आवश्यकता परिपुर्ति गर्नका लागि शदियौँ पहिलेदेखि वनजंगल फडानी सुरू भयो। सभ्यता र समाजको क्रमिक विकासको दौरानमा आजको प्राविधिक युगसम्म आईपुग्दा वनविनाश झन बढिरहेको देखिन्छ। पहिले मानवीय जरूरत पूरा गर्न वनको उपयोग गरिन्थ्यो। अहिले मानवीय उच्च महत्वाकांक्षा पूरा गर्न वनको दोहन जारी छ।
आजको विश्वमा हावी भएका दुई नवीन मानवीय आविष्कार "औद्योगिकरण" र "आधुनिकिकरण" ले मानवलाई भौतिक र आर्थिक समृद्धिको उचाईमा पुर्याएपनि तिनको प्रतिकूल असर वनसम्पदामा परेको छ। एकतिर उद्योगको लागि चाहिने कच्चापदार्थको लागि वनजंगलको अत्याधिक प्रयोग गर्दा पर्यावरणमा प्रत्यक्ष असर त परेको छ नै अर्कोतिर उद्योग कलकारखानाबाट निस्कने हानिकारक रासायनहरूको कारण बढेको भुमी, जल, वायु प्रदुषणले वातावरणीय ह्रास (Environmental degradation) निम्त्याएको छ। वनविनाशका बहुआयामिक नकारात्मक असरहरूले यस ग्रहमा जीवनको अस्तित्वमाथि नै खतरा रहेको संकेत गर्छन । मानवले परिवर्तन र विकासको नाममा वनसम्पदाको अविवेकी प्रयोग गर्दै जाने हो भने त्यो विकास मानवको लागि मात्र होइन सम्पुर्ण सजिव प्राणीको लागि घातक सिद्ध हुनेछ। वन लगायतका अन्य प्राकृतिक सम्पदाहरूको विकास, बिस्तार र संरक्षण बिना प्रयोगमात्र गरीरहने हो भने एकदिन पृथ्वीमा जीवनरहित बञ्जर मरूभुमी शिवाय अरू केही बाँकी रहने छैन।
आजको मानव स्वयंकेन्द्रीत हुँदैगइरहेको छ। उसका स्वार्थि अभिलाषाहरूको शिकार बन्दैछन हाम्रा वनहरू। काष्ठजन्य वनपैदावर र अमूल्य जटिबुटीहरूको चोरीनिकासी गर्ने तथा वन्यजन्तूको अवैध तस्करी गर्नेजस्ता क्रियाकलापहरूमा चेतनशिल भनीएको प्राणी "मानव" नै संलग्न छ । उसले एउटा रूख काट्दा रूखसँगै कयौँ वन्यप्राणीहरूको जीवन पनि काटिरहेको हुन्छ। आफ्नो एउटा जीवनलाई भौतिक सयलको हरियालीमा पुर्याउन उसले कयौँ निर्दोष प्राणीको घर उजाड बनाईरहेको हुन्छ। केवल मानवको अमानवीय स्वार्थको कारण जैविक विविधता, पारिस्थितिक पद्धति र पर्यावरणमा नकारात्मक प्रभाव पर्दा कयौं प्राणीहरू लोप भैसकेका छन त कयौं संकटापन्न अवस्थामा पुगेका छन। आफूसंगै प्रकृतिको काखमा हुर्केका अरू प्राणीको रक्षा गर्नुपर्नेमा झिनो सुविधाको लागि उनीहरूको सिकार गरेर आफूले आफैंलाई दिएको विवेकशिल प्राणीको तक्मा मानवले फुकालेर मिल्काईसकेको छ।
त्यसको सजायस्वरूप मानवले प्रत्यक वर्षाऋतुमा प्राकृतिक प्रकोपहरू भोग्नुपरेको छ। बाढी,पहिरो,भुक्षय, डुबानजस्ता जटिल परिस्थितिको सामना गर्नुपरेको छ। वनविनाशकै कारण जलवायूमा अस्वभाविक परिवर्तन देखा पर्न थालेको छ। धर्तीमा जलस्रोतका मूलहरू सुकेर खडेरी, सुख्खापन र मरूभुमीकरण बढ्दैछ। एकतर्फ शुद्ध पिउने पानीको समस्या बढ्न थालेको छ भने अर्को तिर माटोको उर्वराशक्ति ह्रास भएर खाद्यान्न उत्पादनमा कमी आउंदा कयौं ठाउँमा भोकमरीको समस्या देखिन थाकेको छ। यदि यो परिस्थितिलाई समाधान गर्न विश्वसमुदायले प्रभावकारी कदम उठाएन भने निकट भविष्यमा जीवन जिउन एकदमै कठिन हुने प्रबल संभावना छ।
विज्ञान प्रविधिको चमत्कारको चक्रव्युहभित्र रूमल्लिरहेको मानवलाई प्राकृतिक सम्पदाको संरक्षणप्रति चाँसो हुन नसकेको देखिन्छ। जसको कारण भोलिको पृथ्वी प्राणीहरूको लागि बस्न उपयुक्त रहने हो कि होइन भन्ने चिन्ता सजक र सचेत मनहरूमा बढ्दै गैरहेको छ।
मानवले प्रकृतिको यति सुन्दर क्यानभासमा आफ्नो सृजनशिलताको नौलो रंग भरेर त्यसलाई अझ बढी परिष्कृत र आकर्षक पनि बनाउन सक्थ्यो। तर, उसले "विकास" को नाममा कालो अलकत्रा खन्याएर प्राकृतिक सौन्दर्यता माथि अप्राकृतिक कुरूपता थपिदियो। संरक्षरणको भागिदार बन्नुपर्नेमा भक्षणको जिम्मेवार बनीदियो।
वनसंरक्षण र जीवनको रक्षा:
जीवन शब्दका अन्तिम दुई अक्षर "वन" ले यस धरामा सहज तरिकाले जीवन जिउनको लागी वनको संरक्षण गर भन्ने सांकेतिक भाव प्रकट गरीरहेका छन। वातावरणका अवयवहरू बीच सन्तुलन कायम गर्दै प्रकृतिका अनमोल निधि वनसम्पदाको संरक्षण गर्नु यो युगको आवश्यकता भैसकेको छ। संसारको चेतनशिल र सर्वश्रेष्ठ प्राणी भएको हैसियतले वनसम्पदाको विकास, संरक्षण र उपभोगको भागिदार र हकदार स्वयं मानव हो। सचेत मानवको सामुहिक प्रयास र सार्थक सहभागितामा वन तथा भुसंरक्षणको लागि अपनाउन सकिने प्रभावकारी कार्यहरूलाई यसरी प्रस्तुत गर्न सकिन्छ :
अ. संसारका हरेक राष्ट्र र बहुराष्ट्रिय संस्थाहरूले नीतिगत, संस्थागत र कार्यगत रूपमा वनसंरक्षणको रणनीति तय गर्दै त्यसको अक्षरस पालना गर्नुपर्छ।
आ. सरोकारवाला सबै निकायको सक्रीयतामा "एक व्यक्ती दुई रूख" को अवधारणा अनुरूप वृक्षारोपणको विश्वव्यापी महाअभियान थालनी गर्नुपर्छ।
इ. ग्रीन बेल्ट मुभमेण्ट, चिपको मुभमेण्ट , साईलेण्ट स्प्रीङ्ग जस्ता वनसंरक्षणसम्बन्धि प्रख्यात अभियानहरूलाई विश्वका हरेक कुनामा बिस्तार गर्न संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमले सशक्त संयन्त्र तयार गर्नुपर्छ।
ई. जलवायु परिवर्तनका संभावित जोखिमहरूको निष्प्रभाविकरण तथा अनुकुलतासँग सम्बन्धित अन्तराष्ट्रीय महासन्धि तथा सम्झौताहरूको हरेक मुलुकले कार्यान्वयन गर्नुपर्छ।
उ. शिक्षा र चेतनाबाट वञ्चित मानवसमुदायमा सर्वप्रथम सिपमुलक रोजगारी र आयआर्जनको भरपर्दो स्रोतको व्यवस्था गरि वनको सर्वोपरी महत्वको बारेमा चेतना जागृत गर्नुपर्छ।
ऊ. हरेक मुलुकले वनक्षेत्र संरक्षण, सम्बर्द्धन र व्यवस्थापनको लागि आवश्यक भौतिक संरचना तथा पुर्वाधार तयार गर्नुपर्छ।
ए. विश्वमा भैरहेको तीव्र जनसंख्या वृद्धिलाई प्रभावकारी कार्यक्रमद्वारा छिटो भन्दा छिटो नियन्त्रण गर्दै हरेक राष्ट्रले वनविनाश रोक्न विविध संरक्षणात्मक, सुरक्षात्मक र प्रवर्द्धनात्मक कार्य गर्नुपर्छ।
ऐ. रूसोको "प्रकृतितिर फर्क" मान्यतालाई आत्मसाथ गर्दै हरेक मानव मनमा प्रकृतिप्रति सम्मानभाव विकास गर्न प्राथमिक तहबाटै बालबालिकालाई ज्ञान दिनुपर्छ।
ओ. कृषिजन्य भुमी, शहरीकरण र औद्योगिकरणको लागि वन अतिक्रमण गर्न नदिन हरेक राष्ट्रले कडा कानुन तर्जुमा गर्नुपर्छ।
वनसंक्षण विश्वव्यापी आवश्यकताको विषय हो। यो एउटा संगठन र मुलुकको मात्र जिम्मेवारी नभएर संसारका हरेक मुलुकको साझा आवश्यकता हो। अझ भन्दा सम्पुर्ण मानव जातिको जिम्मेवारी हो । मानव जातिको मात्र होइन प्रकृतिका हरेक सन्ततिको रक्षार्थ वनसम्पदाको विकास, संरक्षण र सम्बर्द्धन गर्नुपर्छ।
नेपालको सन्दर्भ : वनजंगल संरक्षणका प्रयासहरू
क्षेत्रफलको हिसाबले सानो मुलुक भएपनि भौगोलिक विविधताको दृष्टिकोणले नेपाल विशाल संसार हो। यहि भौगोलिक विविधताको कारण नेपालमा विभिन्न प्रकारका वनस्पति क्षेत्रहरू पाईन्छन। नेपालमा उष्ण प्रदेशिय सदाबहार जंगल, समशितोष्ण पतझर जंगल, समशितोष्ण कोणधारी जंगल, लेकाली जंगल र टुण्ड्रा वनस्पति क्षेत्र गरि ५ प्रकारका वनजंगल पाईन्छन। यी प्राकृतिक वनस्पति क्षेत्रहरूले नेपालको ६६ लाख १० हजार हेक्टर (४४.७४ %) भुभाग ओगट्छन। वनक्षेत्रको यो हिस्साले नेपालको वातावरण सन्तुलित छ भन्ने देखाउ /
नेपालमा वन संरक्षणको लागि विभिन्न नीतिगत, संस्थागत र कार्यक्रमगत क्रियाकलापहरू सूचारू गरीएका छन। तिनका बाबजुत पनि वनक्षेत्रको एक जटिल राष्ट्रिय समस्याको रूपमा वन अतिक्रमण रहेको छ। हालसम्म तराई तथा भित्री मदेशका विभिन्न स्थानहरूमा १ लाख हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण भएको देखिन्छ। काष्ठ तथा गैरकाष्ठ वन पैदावारको अवैध संकलन तथा चोरी निकासी, वन्यजन्तुको अवैध शिकार तथा व्यापार, नदि कटान, भु-क्षय, वनडढेलो, अनियन्त्रित चरीचरण, अनियन्त्रित ढुङ्गा- गिट्वा संकलन, वन क्षेत्रका मुख्य समस्याका रूप रहेका छन। विकास तथा पुर्वाधार निर्माणमा वनक्षेत्रको प्रयोग हुँदा संरक्षण र विकासको बीचमा सामञ्जस्यता कायम हुन नसक्नु, वनमा आधारीत लघुउद्यमले अपेक्षा अनुसार सफलता हासिल नगर्नु, बढ्दो मानव वन्यजन्तू द्वन्द्व र समयानुकुल संगठनात्मक संरचना कायम हुन नसक्नु वनक्षेत्रका थप समस्याका रूपमा रहेका छन।
ती समस्या समाधान गर्दै वन संरक्षणकै उद्देश्यका लागि समग्र वनक्षेत्रलाई सरकारी, सामुदायिक, निजी, कबुलियती, धार्मिक लगायतका विभिन्न प्रकारमा वर्गीकृत गरिएको छ। ताकि नागरीकहरूको आम सहभागितामा वनको संरक्षण गर्न सकियोस। यसका अतिरिक्त नेपालको वनसंरक्षणको प्रयासमा अन्तराष्ट्रीय समुदायले पनि होस्टेमा हैंसे गर्दै आएका छन। UNESCO, UNEP, IUCN जस्ता बहुराष्ट्रिय संस्थाहरूले नेपालका वनजंगलको संरक्षण र विकासमा सघाउदै आएका छन। यसरी वन, वनस्पति, वन्यजन्तु र जैविक विविधता लगायतका स्रोतहरूको जनसहभागितामुलक तथा विकेन्द्रीत व्यवस्थापन प्रणालीअनुसार संरक्षण र व्यवस्थापनका प्रयासहरू जारी रहेका छन।
त्यसको अतिरिक्त पर्यावरण संरक्षण, वातावरण सन्तुलन र जैविक विविधता कायम गर्नको लागि निरपेक्ष संरक्षणको अवधारणामा वनक्षेत्रको निश्चित भुभागलाई छुट्याई संरक्षित क्षेत्र घोषणा गरीएको छ। वनसम्पदाको प्रयोग मानिसको लागि हुने भए पनि जनसंख्या वृद्धिको कारण हुने वातावरणीय ह्रास र वन्यजन्तुमा पर्ने नकारात्मक असरलाई न्युनीकरण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०४९ अनुसार नेपालमा संरक्षित क्षेत्रको व्यवस्थापन गरिएको छ। नेपालमा हाल १२ वटा राष्ट्रिय निकुञ्ज, ६ वटा संरक्षण क्षेत्र, १ वटा वन्यजन्तु आरक्ष र १ वटा सिकार आरक्ष छुट्याईएका छन। यी संरक्षित क्षेत्रहरू नेपालका आकर्षक पर्यटकीय गन्तव्यको रूपमा पर्छन। आमोद-प्रमोदको लागि मनमोहक वातावरण उपलब्ध गरी पर्यापर्यटन (Ecotourism) को प्रबर्द्धन मार्फत बिदेशी मुद्रा आर्जन गर्न यी क्षेत्रको महत्वपुर्ण भुमिका रहेको छ। यी संरक्षित वनहरूले मुलुकका पर्यावरणीय, वैज्ञानिक र साँस्कृतिक महत्व बोकेका हुन्छन।
निष्कर्ष:
आजको आवश्यकताको लागि मात्र होइन भोलिको पुस्ताको लागि पनि पृथ्वीलाई बस्न योग्य बनाउन वनसंरक्षण गर्नु आवश्यक छ। मानवको स्वभाव र प्रकृतिको गुणधर्ममाथि सूक्ष्म अध्ययन गरेर प्राचीन समयमा नै विद्वानहरूले वृक्षारोपणको लागि यसरी धार्मिक भावना जागृत गरेको पाईन्छ :
तस्मात् तडागे सद्वृक्षा रोप्याः श्रेयोर्थिना
पुत्रवत् परिपाल्याश्च पुत्रास्ते धर्मतः स्मृताः ॥
अर्थ – परोपकारको इच्छा राख्ने हरकोही मानवले तलाउको छेउछाउमा वृक्षारोपण गर्नु र तिनलाई आफ्नै सन्तति सरह हेरविचार गर्नु। यसलाई कल्याण धर्म मानिनेछ।
" समृद्धि र खुशिका लागि वन " भन्ने मुलमन्त्र जप्दै कल्याण धर्मको मान्यतालाई आत्मसाथ गर्दै यो पुस्ताले वनजंगल संरक्षणको महान यात्रा थालनी गर्नुपर्छ।
Leave a Comment: